Headlines

Message from DG

 
दिगो शहरी विकास, औकात अनुसारको आवास र सुरक्षित, किफायती तथा वातावरणमैत्री भवन निर्माण गर्ने दूरगामी सोचका साथ कार्य गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग मिति २०५७।३।२६ गते तात्कालीन आवास तथा शहरी विकास विभाग र भवन विभागलाई एकीकृत गरी स्थापना भए पनि यसको इतिहास राणाकालीन बनाउने अड्डाबाट शुरु भएको हो । समयक्रममा विभिन्न नामबाट यसले आफुलाइ चिनाउने मौका पाएको छ । यस विभागले शहरी विकास, आवास तथा भवन गरी मुख्य तीन क्षेत्रमा नेपाल सरकारको नीति कार्यान्वयन गरिरहेको छ ।
विभागले शहरी विकास महाशाखा, आवास महाशाखा, भवन महाशाखा र खरिद महाशाखा गरी चार महाशाखा मार्फत विभागीय कार्य सम्पादन गरिरहेको छ भने विगतमा प्रत्येक जिल्लामा रहेका कार्यालयहरुबाट सेवा प्रवाह गरिरहेको यो विभाग मिति २०५८।८।२१ को तात्कालीन सरकारको निर्णय बमोजिम २५ डिभिजन कार्यालयहरु र एक तालिम केन्द्र मार्फत आफ्नो कार्य सम्पादन गरिरहेको छ । मिति २०७२ वैशाख १२ को महाभूकम्प पश्चात भूकम्प प्रभावित १४ जिल्लाहरुमा पुनर्निर्माण र पुनस्र्थापनाको कार्य प्रभावकारी ढङ्गले गर्न १० वटा जिल्लामा थप १० डिभिजन कार्यालयहरु स्थापना गर्ने निर्णय भइ कार्यान्वयनको अवस्थामा रहेको छ ।
दक्षिण एशियाली मुलुकहरु मध्ये नेपालमा तीब्र शहरीकरण भइरहेको क्रममा १९१ वटा नगरपालिकाहरु स्थापना पश्चात नेपालको शहरी जनसंख्या ३८.२६ प्रतिशत रहेको शहरी क्षेत्रलाई व्यवस्थित तथा योजनाबद्ध तवरले विकास गर्न तथा शहरी पुर्वाधार पुर्याउन विभिन्न दातृ संस्थाहरुको सहयोगमा मझौला शहर एकीकृत शहरी वातावरण सुधार आयोजना (Secondary Town Integrated Urban Environment Improvement Project), एकीकृत शहरी विकास आयोजना ( Integrated Urban Development Project)  र शहरी शासकीय क्षमता तथा विकास कार्यक्रमः उदीयमान शहर आयोजना (Urban Governance and Development Program: Emerging Towns Project) जस्ता  एकीकृत शहरी विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त मध्य पहाडी लोकमार्गमा व्यवस्थित रुपमा शहरीकरणलाई निर्देशित गर्न १० वटा नयाँ शहरहरु स्थापना गर्नका लागि नेपाल सरकारको आफ्नै श्रोतबाट विभाग अन्तर्गत नयाँ शहर आयोजना कृयाशील छ ।
सबैलाई सुरक्षित र औकात अनुसारको आवासमा पऊच पुर्याउने कार्यक्रमतर्फ लक्षित वर्गका लागि जनता आवास, घनाबस्ती कार्यक्रम, न्यून आयवर्गका लागि आवास जस्ता कार्यक्रमहरुसंगै निश्चित स्थानहरुमा कर्मचारी आवास जस्ता कार्यक्रम सञ्चालन भइरहेको छ । यसका साथै जग्गा विकास कार्यक्रम, संयुक्त आवास नियमनका कार्यहरु समेत गर्दै आएको छ ।
नेपाल सरकारको कार्य विभाजन नियमावली बमोजिम सरकारी भवनहरुको निर्माण, मर्मत सम्भार, रेखदेख र सुरक्षाको जिम्मेवारी यस विभागलाई प्रदान गरिएको भए पनि सरकारी कार्यालयहरुको निर्माण बहुनिकाय मार्फत भइरहेको अवस्था विद्यमान छ । नेपाल सरकारबाट प्राप्त बजेटको परिधिमा विभागले सरकारी भवनहरुको निर्माण र मर्मत  सम्भार गरिरहेको छ भने एक दशकदेखि विभिन्न तहका स्वास्थ्य संस्थाका भवनहरु निर्माण गरिरहनुका साथै सशस्त्र द्वन्द पश्चात जिल्ला सदरमुकाममा पुनर्निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त विभिन्न संवैधानिक तथा सरकारी निकायहरुबाट हुने भवन निर्माण कार्यमा प्राविधिक सहयोग समेत गरिरहेको छ । भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता कार्यान्वयनमा यस विभागको नेतृत्वदायी भूमिका रहेको छ ।
आ. व. ०५६÷०५७ मा यस विभागको वार्षिक बजेट ९ करोडबाट आ. व. ०७२÷०७३ को बजेट ७ अर्ब नाघिसकेको तथा कार्यक्षेत्र समेत विस्तार भइरहेको तुलनामा विभागको संगठन संरचना परिवर्तन र दरबन्दी कायम गरी विभागको कार्यलाई प्रभावकारी बनाउनु चुनौतीपूर्ण रहेको छ भने सम्पादन गरिने कार्यहरु गुणस्तरयुक्त, किफायती र मितव्ययी हुनु पनि त्यतिकै चुनौतीपूर्ण छ । समयक्रमसंगै निर्माण प्रविधि र निर्माण सामग्रीमा आएको  परिवर्तन र आधुनिकता बमोजिम विभागको कार्यशैली परिवर्तन गर्नुका साथै विभागका जनशक्तिको क्षमता सुदृढ गर्नु, नेपाल सरकारको कार्य विभाजन नियमावली बमोजिम विभागले गर्नुपर्ने कार्यहरु विभागको छातामुनि ल्याउनु तथा नेपाल सरकारको श्रोतबाट सञ्चालन गरिने कार्यक्रमहरु स–साना टुक्रे कार्यक्रम भन्दा अध्ययन गरिएका योजनाहरुको आधारमा प्रभावमूलक कार्यक्रमहरु सञ्चालन गर्नु जस्ता कार्यहरु विभागको चुनौती रहेको छ ।
शहरी विकास, आवास तथा भवन निर्माणको क्षेत्रमा विभागको विशेषज्ञता, नीति निर्माता तथा सरोकारवालाहरुबीच विभागको उच्च शाख र विभागप्रतिको विश्वास, सिमित जनशक्तिका बाबजुद नेपाल सरकारबाट प्राप्त जिम्मेवारी सफल ढङ्गले सम्पादन गर्न सक्नु, महाभूकम्प पश्चात विभागले गरेको कार्यहरुको उच्च मूल्याङ्कन तथा विभागले गर्ने तीन वटै क्षेत्रका कार्यहरुमा दातृ निकायहरुको विश्वास आर्जन गर्न सक्नु यस विभागका सबल पक्ष हो ।
अन्त्यमा, यस शहरी विकास तथा भवन निर्माण विभागलाई वर्तमान अवस्थामा ल्याइ पु–याउन योगदान दिनु हुने सम्पूर्ण अग्रजहरुप्रति आभार प्रकट गर्दै नेपाल सरकारले निर्धारण गरेको जिम्मेवारी अनुरुप विभागको कार्यलाई गुणस्तरीय, प्रभावकारी र न्यायोचित ढङ्गले सम्पादन गर्न विभागका सम्पूर्ण कर्मचारीहरु मन, वचन र कर्मले प्रतिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिएको छु साथै आधुनिक सूचना प्रविधिको युगमा विभागबाट सम्पादन गरिने कार्यक्रमहरुको पारदर्शिताका लागि यस वेभसाइट मार्फत सार्वजनिक गर्ने आश्वासन दिन चाहन्छु भने सम्पूर्ण सरोकारवालाहरुबाट अमूल्य सकारात्मक सुझावको अपेक्षा समेत गर्दछु ।
 

आयोजना निर्देशक